भोलि पर्खिरहेका मेरा आँखाहरु भन्दैछन्

                                                                                                                           किशमा किशोर
कान्छो बुबा पैसा दिनु न ! ओसिलो विहानीमा हामी पारिलो घाम तापेर खेलिरहँदा उहाँ खिलबहादुर भ पैसा पाउने आशाले दैनिक यही वाक्य दोहोर् याउँथ्यौं । ए पैसा॥ टक्क उभिएर हामीलाई एकनासले हेर्नुहुन्थ्यो उहाँ म भोलि दिउँला है । हामी हवस् भन्दै हाम्रो ढुङ्गामाटोको घर बनाई खेललाई निरन्तरता दिन्थ्यौं सम्झना ताजै छ । त्यसपल उहाँका आँखा केही खोजिरहेझैं हाम्रा मैला निरीह अनुहारमा केन्द्रित हुन्थ्यो । सायद हाम्रो भविष्य नियालेको हुनसक्छ । दाहिने हातमा कालो डायरी हाफ चेकसर्टको देव्रे छातीमा सधैँ सजिईरहने २ थान कालो पाइलट पेन देवकोटाको चित्र झल्कने गरी ठूला निधारको प्रदर्शन सायद त्यसैले उहाँको पथ पहिल्याउँथ्यो होला । बेला-बेलामा केही सोचेझैं गरी उहाँले आकाशतिर टोलाउँदा हामी बालबच्चाको एउटा जम्बो टोली उत्साहित हुन्थ्यौं र हामी पनि उहाँले जस्तैगरी हेरिरहन्थ्यौं त्यो शून्य अनि नीलो आकाश । उहाँको छातीमा सधैं टल्कने दुईमध्ये एक पाइलट पेन दिए हुन्थ्यो भन्ने आशामा हामी सधैं रहन्थ्यौं । एक आपसमा प्रतिस्पर्धा नै हुन्थ्यो उहाँलाई रिझाउन । जुन एउटा पेनको स्वार्थको लागि हुन्थ्यो ।
भोलिपल्ट कान्छो बुबा आउने बाटोमा आँखाहरु बिच्छाइरहन्थ्यौं । पैसा पाउने आशमा प्रतिक्षित आँखा एकटकले बाटो नियालिरहेको हुन्थ्यो । उहाँ आउनुहुन्थ्यो हामीलाई स्नेहपूर्वक हेर्नुहुन्थ्यो । प्रेमपूर्वक सुम्सुम्याउनुहुन्थ्यो तर पैसा भोलि दिन्छु भन्नुहुन्थ्यो । ती घटना परिघटना अझैसम्म मानसपटलमा ताजै छन् । त्यसबेला कान्छोबुबा चौताराबाट आउनुहुन्थ्यो र भन्नुहुन्थ्यो बाबु राम्ररी पढ् है ! हामी म लगायत मेरा समकालीन् दौंतरीहरु भोलि पैसा पाउने आशमा हवस् भन्थ्यौं । यो क्रम दिन हप्ता र महिना गर्दै वर्ष बिते तर कान्छो बुबाको भोलि कहिल्यै आएन ।

  •  

र अन्त्यमा प्रस्तुत कृतिका सर्जक स्वर्गीय खिलबहादुर भावुकप्रति श्रद्धााजली । दुःखी प्रकाशनद्वारा प्रकाशित उहाँको गीतिसंग्रह अहा उफ र व्यथाका गीतहरु कृतिको प्रकाशकीयको अन्तिम यो वाक्यलाई दोहोर् याई-दोहोर् याई पढें । गए राति ।
वर्षौपछि मेरो आँखा रसायो उहाँ अर्थात् भावुक सिन्धु साहित्यका स्रष्टा मात्र नभई मेरो कान्छोबुबा पनि हुनुहुन्थ्यो । हामीबीचको सामीप्यता केवल नाममा मात्र सीमित रह्यो आजसम्म पनि । उहाँ सच्चा साहित्यकार हुनुहुन्थ्यो म अझै कलम घिसार्दै छु । भावनाको मात्र नभई उहाँसंगको निकटतम् नाता रगतमा छ । कुलमा छ । निकटतामा थप आत्मीयता हँुदोरहेछ । परेली छामेर मैले यही अनुभव गरें । त्यसैले होला सायद म उहाँलाई अझै जीवित नै ठान्दछु तर अहा उफ र व्यथाका प्रकाशकीयमा घोषणा गरिएको स्वर्गीय शव्दले पैसाको लागि भोलि पर्खिरहेको मेरा आँखामा मूल फुट्नु स्वाभाविकै थियो । स्रष्टा कहिल्यै मर्दैनन् मर्ने भए उनका कविता मर्छन् । उनका भावना मर्छन् । यदि खिलबहादुर मरेकै हो भने हामी उहाँका कविता अझै किन पढिरहेका छौं त कविता पनि मर्नुपर्ने हो । आजसम्म पनि उहाँका कविता सान्दर्भिक छन् । हामी आफैं खोजी-खोजी पढिरहेका छौं । साहित्य पाठकका लागि लेखिन्छ । जस्को आफ्नै लक्षित वर्ग हुन्छ । मैले जानेसम्म बुझेसम्म अनि सुनेसम्म कवि भावुकका पाठक सबै थिए ।
जीवन कल्पनाले बाँचिदैन । व्यवहारसंग हात मिलाउनैपर्छ । जीवन भोगाईका अनेकन जालीय घुम्तीहरुमा श्रृङ्खलावद्ध रुपले आइपर्ने चुनौतिका पहाडहरु फोरेर भोलिको सपना देख्ने गर्छन् मानिसहरु । त्यसैले त हरेकको जीवन महत्वपूर्ण छ र रहस्यमय पनि । मेरो नजरले देखेको यहि श्रृङ्खलाको एउटा पाटा हुन्- खिलबहादुर भावुक ।

मान्छे मात्र होइन साथी ढुङ्गा पनि बोल्छ
आगोको त कुरै छाडौं पानीले त पोल्छ

किन किन कता-कता मेरो मन रुन्छ
आफ्नो भन्नु आँखा पनि आँसु झरिदिन्छ

म जन्मनुभन्दा पनि झण्डै एक दशक अगाडि रचिएको भावुकका यी कविताका हरफले कविता रचिएको झण्डै साढे तीन दशकपश्चात् मभित्रको कवित्व जागृत गराउन प्रेरित गरिरहेछ । यी कविताका हरफहरु पढेर यसपल म भावुकलाई सम्झिरहेछु । शिष्ट सालिन साँच्चिकै भावुक कवि भावुक ।
सरल शव्दमा गहकिला भावले सजिएका कवि भावुकका कविताहरु वास्तवमै धनको सन्तोषले दिने आनन्दभन्दा मनको सन्तोषले दिने आनन्द ज्यादा हुने प्रत्याभूति दिलाउँछ । कवितासंग्रह आस्थाको आवाज गीतिसंग्रह अहा उफ र व्यथाका गीतहरु पढेपछि आमपाठकहरु उनको कलात्मक शैली सिल्पले कुँदिएका शव्दका लहरहरुमा डुबुल्की मार्छन् । जुन निरन्तर चलिरहन्छ । वास्तवमा मानवताको सन्देश बोकेको छ । चेतना अभिवृद्धि गराउने स्तरका छन् उहाँ अर्थात् कवि भावुकका कविताहरु ।
म जुनै प्रसङ्ग र कविताको जुनसुकै हरफहरुलाई आलिङ्गन गरेर छातिमा हात राखी स्वीकार्न सक्छु । र घमण्डीपन देखाउन पनि सक्छु । भावुकका भाव भावुकका कविता सिन्धु साहित्यिक इतिहासमा पृथक छन् र अमूल्य छन् किनकि भावुकका जस्ता विचारणीय शव्द केलाउने कला त्यसको निष्कर्ष सिन्धुका अन्य कविले आजसम्म पनि दर्शाउन सकेका छैनन् । आस्थाका आवाजभित्रका प्रायः कविताहरुले समाजको यथार्थ चित्र कोरेको छ । तत्कालीन समय राज्यसत्ता परिवेश देशको स्थितिको सजीव चित्र कोरेका ती कविताहरु यतिबेलाको देशको लागि एउटा स्वर्णीय इतिहास बन्ला तर समय फर्कदैन । ती कविता कालो इतिहासमै सीमित रहन्छ किनकि यतिबेलाको साहित्यिक परिवेश पूर्णरुपले राजनीतिमय भएको छ । विचार नमिल्ने नाममा फुटेको आँखाले हेर्दैनन् । आफ्नै धारका कलंकित शव्दहरु थुपारेर जबर्जस्ती साहित्य भनेर नामाकरण गर्ने साहित्यकारहरुलाई पैसा र शक्तिको पहुँचमा पृष्ठपोषण गरिन्छ÷सम्मान गरिन्छ ।
राजनीतिक कार्यकर्ताको बिल्ला भिरेकाहरुलाई आफ्नै पार्टीको मातहतका संघसंस्थाहरुद्वारा सम्मान गरिने होड नै चल्छ । त्यो वा त्यस्तो प्रवृत्तिको नामोनिशान जबसम्म हुँदैन तबसम्म भावुक जस्ता कालजयी रचनाका सिर्जनाकारलाई सम्झने आँट कसैले गर्दैनन् । मै ठूलो मै जान्नेसुन्ने भनाउँदाहरुको रामछाँया प्रवृत्तिले अमर सिर्जनाका रचनाहरु छाँयामा परेका छन् र यो पनि हो भोलि-भोलिसम्म पनि छाँयामा परिरहने छन् । यो तीतो सत्य क्रमिकरुपमा यसरी वृद्धि हुँदैछ किनकि जिल्लामा नेपाली भाषा साहित्यको उत्थानका निमित्त काम कार्वाही गर्ने देशका गहना मानिने स्रष्टा सर्जकलाई उत्साहित गराउने जस्ता कार्यहरु गर्ने हिम्मतिला छाती भएका कोही छैनन् ।
जिल्लामा अझैपनि मवादी प्रवृत्ति हावी छ । कसले साहित्य कृति निकाल्दै छ त्यो चासोको विषय हुन्छ । कुन नेताले कविता लेख्यो त्यो पनि चासोको विषय हुन्छ । प्रभातिप्रहरको चियापसलदेखि सन्ध्याकालीन् भट्टीहरुमा फलानाले पहिला कविता लेख्यो पुस्तक प्रकाशन गर् यो जस्ता संवादहरुमा दोहोरिन्छन् तर कसले उत्कृष्ट सिर्जना गर् यो कसले साहित्यमा अब्बलता प्रस्तुत गर् यो सिन्धु साहित्यको उत्थानको लागि संरक्षणको लागि कसको कति योगदान भयो त्यसको चियोचर्चो गर्ने कोही छैनन् । म कम्युनिष्ट तँ प्रजातान्त्रिक भनेर आफ्नो वर्ग छुट्याउनेहरु आफै कलंकभित्रको हाँस्यपात्र बन्न पुगेका छन् । यो सिन्धु साहित्यको वर्तमान परिदृष्यले पनि बताउँछ ।

हामी हरेक साल भावुकलाई सम्मान गर्छौं । भावुक जयन्ती मनाउँछौं । उनका रचना पढ्छौं र उनलाई सम्झन्छौं । यहाँ व्यक्ति व्यक्तिमा प्रश्न उठ्ला भावुकलाई सम्झनुको औचित्य के भावुक जयन्ती किन मनाउने के उनका रचना कालजयी छन् के अझैपनि उनका रचना सामयिक छन्
यी र यस्ता प्रश्न त्यसले सोच्ला या सोध्ला जसले भावुकलाई राजनीतिक भागबण्डामा पार्छ । जसले भावुकको नाममात्र सुनेको छ । जसले भावुकका रचना पढेका छैनन् ।
वास्तवमै साहित्यमा मानिसको जीवन लेखिन्छ । उसको परिभाषा लेखिन्छ । त्यसैले हामी कवितामा जीवन देख्छौं । कतिले नदेख्लान् त्यो छुट्टै पक्ष किनकि हेर्ने शैली फरक हुन्छ । दृष्टि फरक हुन्छ । कविता चेतना हो । भावुकका कविता तथा अन्य साहित्यिक सिर्जनाहरुले बताएको पनि यही हो । जोसँग जति बुझ्ने क्षमता हुन्छ त्यसले त्यति मात्र बुझ्छ । भावुकले आफ्ना कवितामार्फत् जीवनको सम्पूर्णता दर्शाएका छन् । जुन अन्य कविहरुले त्यसको प्रयोग नै गर्दैनन् वा भनौं भावुकका शैली नै पृथक छन् । यहाँ बुझ्नुपर्ने कुरा के छ भने जीवनलाई पूर्णतामा अनुवाद गरेर कलात्मक साहित्य सिर्जिन रचनाकारले पहिला जीवन बुझ्नु जरुरी हुन्छ ।
मैलै भावुकका आँखामा जे देखें उहाँका शब्दहरुमा जे पाएँ उहाँका प्रतिविम्वहरुमा जे खोज्छु; ती सबै पूर्ण छन् । म यतिबेला कल्पना गरिरहेछु । जसले जति आदर्शका कुराहरु गरेपनि उहाँमा जति चेतना आजका मान्छेमा किन छैन

यो सत्य हो समय फर्कदैन । हामीले अब कालजयी सिर्जनाका स्रष्टा खिलबहादुर भावुकसँग साक्षात्कार गर्न पाउँदैनौं । उहाँलाई सुन्न सक्दैनौं । प्रत्यक्ष संवाद गर्न सक्दैनौं । तर उहाँका कविता हामीसँग छन् । हामी त्यही कवितासँग संवाद गर्छौ किनकि उहाँका कवितामा चेतना छ । हामी त्यसैलाई अनुशरण गर्छौं । उहाँका पैतालाका डोबहरुलाई पछ्याउँदै उहाँले कुल्चनुभएका माटोलाई स्पर्श गर्छा ।
एउटा बाल मानसपटलमा अमीट बनेको भोलि घटनाको चित्रले वास्तवमा अलौकिक कल्पना गर्न वाध्य तुल्याउँछ । उहाँ फेरि मेरो समीपमा भोलि भन्न आउनुभए सायद मेरो जिन्दगीको ठूलो प्राप्ति नै त्यही हुने थियो । तर यसपल म लाचार छु । मेरो कवित्वको धड्कन यस्तो भन्दैछ ।

माथ्लो गाउँकी सानीले
उसकी आमालाई
राति उदाएको तारामा देखिन् रे
त्यसैले हर पूर्णेको साँझ
ऊ तारा नियाल्छे ।

कवि
मैलै कविताका हरफमा तिमीलाई खोजें
र तिमीमा अनुवाद भएँ
आठ÷बाह्र छलेर
तिम्रा शब्द नियालँे
अमूर्त छाँयाजस्तो देखेँ
ती शब्द
आँसु रहेछन् बगिहाल्ने ।

तिमीले सुसेलेका व्यथा सुनेँ
तिम्रा आस्थाका आवाज सुनेँ
अचेल म पिँजडाको चरी भएको छु
तिम्रो अनुपस्थितिमा
साँच्चै यसपल म
तिमीलाई ताराहरुमा खोजिरहेछु
माथ्लो गाउँकी सानीसँगै

ए ! कवि महोदय
भन न तिमी कहाँ छौं
म भोलिको प्रतिक्षामा छु ।

                                                                                                    kishmapari@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.